प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०७९
विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज
२०७९-०९-२४

काठमाडौं, २४ पुस, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।            यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।            विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।            यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।             काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।             नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।            समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।             कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।             गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।             काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।  

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ७ जना नियन्त्रणमा
२०७९-०९-१९

काठमाडौं, १९ पुस, यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलियाहरू र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरि ७ जनालाई आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ र चाबहिलबाट ५ जनालाई र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई  यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि विभिन्न प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए  ।   पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १५ जना नियन्त्रणमा
२०७९-०९-१८

काठमाडौं, १८ पुस यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरू र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई आज सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए ।  पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०७९-०९-१४

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागू औषध सहित पक्राउ
२०७९-०९-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४८ बोतल सहित सर्लाही चक्रघटा गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख २५४७ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।                    भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित जाजरकोट कुशे गाउँपालिका-५ घर भई हाल काठमाडौं जडिबुटि बस्ने २१ वर्षीय हिरा खत्री लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

४ थान नक्कली नेपाली नोट सहित पक्राउ
२०७९-०९-१४

तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ । 

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ
२०७९-०९-०४

काठमाडौं, ४ पुस ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन् ।फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रुपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरु प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ । साथै सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरुमध्ये ७ वटा बैंक खाताहरुबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरुबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार  ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।